Story
“पहिले हेला गरेर जिस्क्याउनेहरु अहिले राम्रो गयौं भन्छन् ”
“पहिले हेला गरेर जिस्क्याउनेहरु अहिले राम्रो गयौं भन्छन् ”
प्राथमिक तहको पढाई गाउँबाटै गरी छिमेकी गाउँको
भागेश्वर मा.वि. मा एसएलसीसम्म पढेकी पवित्राकुमारी राउटेको जिन्दगी निकै
संर्घषपूर्ण छ।आर्थिक अभावले गर्दा विद्यालय जाने समयमा उनले पढाईको अलावा ज्याला
मजदुरी समेत गर्नु पर्यो।त्यसरी कमाएको पैसा पढाई र घरखर्चमा सकिन्थ्यो।
गाउँका अरु केटीहरुले पढेको देखेर उनलाई पनि पढ्ने इच्छा जागेर
विद्यालय भर्ना भएकी उनी राउटे समुदायको पहिलो शिक्षित महिला भएको गर्वसाथ
बताउछिन्। विद्यालयमा अरु विद्यार्थीले राउटे भनेर
जिस्क्याउन थालेपछि उनीसँगै विद्यालय जाने कतिपय राउटेका बालबालिकाले जान छाडे तर
उनले छोडिनन्।“म चाँही तगडा थिए, कसैले
जिक्याए भने सरलाई भनिदिन्थे।अरुले जिस्क्याए भनेर कहिले हतोत्साही भईन।त्यसैले
गर्दा यो अवस्थासम्म आईपुगे।” हास्दै उनी यसो भन्छिन्।
उनको घरमा बुबा, आमा, तीन दाजु, एक दिदी, एक बहिनी, एक भाई र उनीसमेत गरी नौं जनाको परिवार छन्।“हाम्रो परिवारमा सात जना त पढ्दै छन्।आज काम गर्यो आजै खानु पर्ने भोली काम गर्यो भोली खानु पर्ने, पैसा बचत हुँदैन आर्थिक अवस्था कमजोर छ।घरमा
बेलुका पढ्न टुकि वत्ति बाल्न मट्टितेल किन्ने पैसा नहुँदा धेरैपटक शिक्षकको पिटाई
खाएको छु।अहिले आफ्नो जिन्दगी फर्केर हेर्दा राम्रो लाग्दछ।”उनी एकछिन गम्भिर भएर हसिलो अनुहार गरी भन्छिन।“पहिले
जंगलमा बस्ने बानी भएकाले राउटेको कमाउने, जम्मा गर्ने सोच कहिलै आएन।त्यसैले आर्थिक
अवस्था सबैको कमजोर छ।”आफ्नो दुखेसो उनी यसरी पोख्छिन।
उनको गाउँमा राउटे समुदायका ३०घर परिवार बस्छन्।आफ्नो
बाल्यकाल र अहिले आएको परिवर्तनबारे उनी भन्छिन “पहिले हेला गरेर जिस्क्याउनेहरु अहिले राम्रो ग¥यौं
भन्छन्।”उनी गाउँमा हुँदा उनलाई देखेर बहिनी र गाउँका अरु केटीहरुसमेत विद्यालय जान्थे।एसएलसी पास भएर गाउँ छोडेपछि उनीकी बहिनीलगायत गाउँका अरु केटीहरुले पनि विद्यालय जान छोडे।धेरैले त विवाह गरेर गएका छन्।
उनको परिवारलाई राज्यले बसोवासको लागि दिएको जग्गा त्यति राम्रो
छैन वर्षाको भेलले दुःख दिन्छ।हिँउदामा भने सिंचाई नभएर केही उब्जनी हुँदैन।अहिले
सिंचाई दिएर केही उब्जनी हुन थालेको छ।घरमा गाई, गोरु, बाख्रा
पालेको छ।उनको जमिनको अन्नले वर्षभरी खान पुग्दैन।परिवारले ज्याला मजदुरी गरी घर
चलाउनु पर्छ।
पवित्रा गाउँमा रहदा गाउँका मानिसलाई प्रौढ शिक्षा पनि पढाउनुको
साथै सामाजिक तथा विकास सम्बन्धी कार्यमा पनि सक्रिय सहभागी हुन्थिन।उनलाई
पढ्नलाई दाईले सधैं प्रोत्साहन गर्दथे।“कसैले सहयोग गरे ठिकै छ नत्र पढे आफैलाई हुन्छ दुःख गरेर ज्याला, ऋण
लिएर भएपनि पढ्नु पर्दछ।” दाईले भनेको कुरा सम्झदै उनी यसरी बताउछिन्।
रिच आउट टु एशियाको आर्थिक सहयोगमा एक्सनएडद्वारा प्रदान गरिएको
छात्रवृत्ति कार्यक्रम अन्तर्गत श्री कृष्णउच्च मा.वि. कृष्णपुर, कञ्चनपुरमा
अध्ययनरत पवित्रा राउटे अहिले भेटनरी विषयमा जेटिए गर्दैछिन।आफ्नो पढाईको लागि
एक्सनएडमार्फत सहयोग प्राप्त भएकोमा उनी खुसी हुँदै यसो भन्छिन “फाया नेपाल संस्थाले सहयोग गरेर पढ्न पाएँ नत्र मलाई आफैं पढ्न गाहे थियो।”
सरकारले लोपोउन्मुख जाति भनेर राउटेलाई अहिले महिनाको एक हजार
भत्ता दिएको छ।यसले उनीहरुको जीवनलाई केही सहज बनाएको छ भने सामाजिक सोचमा पनि
परिवर्तन भएको छ। “हिजोसम्म हामीलाई हेला गर्नेहरु अहिले भत्ता पाउँदा राउटे हुन पाए हुन्थ्यो भन्छन्।” यस्तो सुन्दा आफूलाई अझै उत्साह बढेको कुरा उनले बताईन।भविष्यकोबारेमा उनी यसो भन्छिन “जेटिएको पढाई सकेपछि आफ्नै गाउँमा एग्रो भेट पसल खोल्छु पैसा जुटाउन नसके जागिर खान्छु।”